सारांश
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको हो।
राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा मदन भण्डारी फाउण्डेशन राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरिएको छ। पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको जनाइएको छ। यसै अवसरमा मदन भण्डारीको जीवन, विचार र योगदान समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि कमजोर बनेको कम्युनिस्ट सहकार्यलाई नयाँ ढंगले अघि बढाउने विषयमा चर्चा भइरहेका बेला उक्त कार्यक्रमलाई साझा संवादको मञ्चका रूपमा समेत हेरिएको छ।
यता, पछिल्ला दिनहरूमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासँगै एमाले र नेकपाबीच सम्भावित एकता वा सहकार्यबारे राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ।