Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : देश किन अस्तव्यस्त ?


सारांश

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : देश किन अस्तव्यस्त ?
images

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमा व्याप्त अन्योल र अव्यवस्थाबारे प्रश्न उठाएका छन् ।

विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणाली, राजनीतिक नेतृत्व र देशको भविष्यप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलाउँछ ?’ पूर्वराजा शाहले प्रश्न गरेका छन् ।

उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधार बलियो बनाउने र अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा समेत गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

विश्व परिवेश र भू–राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रियता, राष्ट्रिय स्वाभिमान तथा मौलिकताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको सन्देश छ ।

देशमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शाहले विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेछ’, उनले भनेका छन् ।

पूर्वराजा शाहले पछिल्लो समय नेपालले भोगेका प्राकृतिक विपत्तिको पनि स्मरण गरेका छन् । भोटेकोशीमा आएको बाढीबाट विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति र जनधनको नोक्सानीप्रति दुःख व्यक्त गर्दै उनले प्रकृतिसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij