सारांश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टिम चयन भएको छ। निर्वाचित पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर छन् भने देउवा समूह छाडेका तीन जना मात्रै समेटिएका छन्।
सभापति थापा ६ हजार ५८४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए।
खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भए। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी हुँदा महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला निर्वाचित भइन्।
११ सहमहामन्त्रीमध्ये नौ जना विशेष महाधिवेशन पक्षधर निर्वाचित भए। खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, थारूतर्फ योगेन्द्र चौधरी र मधेसीतर्फ अजयकुमार चौरसिया विजयी भए।
त्यस्तै महिलातर्फ प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ, दलिततर्फ प्रकाश रसाइली स्नेही, पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिर्दोश आलम तथा अल्पसङ्ख्यक र अपाङ्गतातर्फ आङ्गेलु शेर्पा निर्वाचित भए।
विशेष महाधिवेशन पक्षधरले प्रमुख पदाधिकारीमा वर्चस्व कायम गरेका छन्। केन्द्रीय सदस्यतर्फ निर्वाचित २०९ जनामध्ये करिब ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेको बताइएको छ।
२९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ७० जना मनोनित गर्न पाउने व्यवस्था छ। अब थापाले चार सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनित गर्नेछन्।