सारांश
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको फैसला पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक ठहर गरेको आदेश पुनरावलोकन गर्न माग गर्दै बिहीबार देउवा पक्षले वारेसमार्फत निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोग, सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अब तीन न्यायाधीशको इजलासले पुनरावलोकनको अनुमति दिने वा नदिने भन्ने विषयमा प्रारम्भिक निर्णय गर्नेछ। अनुमति दिएमा मात्रै मुद्दाको पुनः सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
सर्वोच्च अदालतमा पुनरावलोकनको अनुमति सम्बन्धी निर्णय न्यायाधीशहरूको विशेष इजलासले महिनामा दुई पटक मात्रै गर्ने व्यवस्था रहेको छ। त्यसैले यो निवेदनको सुनुवाइ र निर्णय कहिले हुने भन्ने अझै निश्चित भइसकेको छैन।