Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डा. गोविन्द केसी बसे अनशन, वार्तामा आउन आग्रह


सारांश

डा. गोविन्द केसी बसे अनशन, वार्तामा आउन आग्रह
images

काठमाडौं । सरकारले आफ्ना ५ बुँदे माग पूरा नगरेको भन्दै डा. गोविन्द केसी बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनमा बसेका छन्।

आफूले उठाउँदै आएका माग कार्यान्वयनका लागि दबाब दिन उनले अनशन सुरु गरेका हुन्। यसअघि उनले साउन ५ भित्र माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका थिए।

केसीले चिकित्सा शिक्षा आयोग, दशरथ चन्द विश्वविद्यालयलगायतका निकायमा हुने नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न, मापदण्ड नपुगेका निजी मेडिकल कलेजमा सिट संख्या वृद्धि गर्ने प्रस्ताव रोक्न तथा चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन माग गरेका छन्।

यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत उपलब्ध गराइने छात्रवृत्ति कटौती नगर्न र विगतमा सरकारसँग भएका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले सरकारसँग माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा नेतृ डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई आमरण अनशन तोडेर प्रधानमन्त्रीसँग सिधै छलफल गर्न आग्रह गरेकी छन्।
डा. कार्कीले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै वर्तमान सरकार जनताको सेवक भएकाले विगतका सरकारलाई जस्तो ज्यानको बाजी राखेर खबरदारी गरिरहनु नपर्ने बताएकी हुन्। उनले डा. केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिएकी छन्।
‘सर, तपाईं जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईंकै हो,’ कार्कीले डा. केसीलाई सन्देश दिँदै लेखेकी छन्, ‘तपाईं सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ।’
विगतका सरकारहरूले शरीर गलेपछि, आन्दोलन चर्किएपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने गरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यो अवस्था कुर्न नहुने भन्दै तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij