Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सरकार बन्दुकको गोलीमा सीमित हुनुहुन्न, स्टाटसमा मात्र भेटिनुहुन्न : गगन थापा


सारांश

सरकार बन्दुकको गोलीमा सीमित हुनुहुन्न, स्टाटसमा मात्र भेटिनुहुन्न : गगन थापा
images
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिप्रति प्रश्न उठाएका छन्।

बैठकमा बोल्दै थापाले यस्तो संवेदनशील अवस्थामा सरकार प्रभावकारी रूपमा सक्रिय देखिन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपति, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरेर साझा पहल गर्नुपर्ने बताए। उनले संकटका बेला सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

सरकारले समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै सभापति थापाले अघि भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न । स्टाटसमा मात्र भेटिनुहुन्न । सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ ।’

थापाले सुनसरी घटनालाई राज्यको कमजोरीको परिणाम भएको उल्लेख गर्दै कांग्रेसले पनि घटनाबारे आन्तरिक समीक्षा गर्ने तर सरकारलाई अप्ठ्यारोमा पार्ने उद्देश्य नरहेको स्पष्ट पारे। उनले कांग्रेसका जनप्रतिनिधि र नेताहरूलाई प्रभावित क्षेत्रमा सक्रिय भएर समस्या समाधानमा भूमिका खेल्न निर्देशन दिइएको पनि जानकारी दिए।

रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आयोजना गरी साझा पहलको प्रयास गरेको भन्दै थापाले धन्यवादसमेत व्यक्त गरे।

उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, एमाले अध्यक्ष केपी शर्मा ओली तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij