Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राज्यले समयमै प्रतिक्रिया नदिँदा यस्तो अवस्था सिर्जना भयो : मधेशवादी नेता


सारांश

राज्यले समयमै प्रतिक्रिया नदिँदा यस्तो अवस्था सिर्जना भयो : मधेशवादी नेता
images
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्तामा सुनसरी घटनालगायत समसामयिक विषयमा गम्भीर छलफल भएको बताएका छन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूले उठाएका विषय प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक सुनेको र त्यसअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

महतोले सुनसरी घटनाप्रति सरकारले समयमै प्रतिक्रिया नजनाउँदा अवस्था जटिल बनेको धारणा राखे। उनले आफूहरूले यसअघि तयार पारेको आठबुँदे प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुझाइसकेको र शुक्रबार प्रधानमन्त्रीलाई पनि त्यसबारे जानकारी गराएको बताए।

उनले भने, “घटना भएको पाँच–छ दिन बितिसकेको थियो। मधेशमा यसको प्रभाव आगोझैँ फैलिरहेको छ। राज्यले समयमै प्रतिक्रिया नदिँदा यस्तो अवस्था सिर्जना भयो। त्यसलाई तत्काल रोक्न आवश्यक छ।”

महतोले सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल र सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। साम्प्रदायिक तनावले समाजमा एकअर्काप्रति डर र अविश्वासको वातावरण सिर्जना हुने भएकाले त्यसलाई रोक्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, “हामी सबै शान्ति र सद्भाव कायम गर्न सहयोग गर्न तयार छौँ। मान्छे मान्छेबाट डराउने अवस्था देशका लागि राम्रो होइन। प्रधानमन्त्रीले यस विषयमा प्रभावकारी पहल गर्नुपर्छ।”

प्रधानमन्त्रीले केही दिनअघि नै सार्वजनिक रूपमा सम्बोधन गरेको भए परिस्थिति थप बिग्रिन नदिइने महतोको दाबी छ। साथै, गृहमन्त्रीको पहलमा भएको सहमति कार्यान्वयनमा लैजानुपर्ने र त्यसलाई बेवास्ता गर्न नहुने पनि उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij