इतर समूहको राष्ट्रिय भेलाअघि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
सारांश
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे ललितपुरको सानेस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो।
कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्।
यसैबीच, सभापति गगन थापासहित पार्टी नेतृत्वले आन्तरिक एकताका लागि प्रभावकारी पहल नगरेको आरोप लगाउँदै पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
उक्त भेलाका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। साथै, भेला सफल बनाउन १६ वटा विभिन्न तयारी समिति गठन गरिएका छन्, जसमा राजनीतिक, समसामयिक, सांगठनिक तथा विधान मस्यौदा लगायतका समितिहरू समावेश छन्।
यही राजनीतिक पृष्ठभूमिमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई कांग्रेसभित्रको आन्तरिक समीकरण र आगामी रणनीतिका दृष्टिले निकै महत्वका साथ हेरिएको छ।