Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सरकारमाथि कांग्रेसको असन्तुष्टि, जनविश्वास गुमाएको आरोप


सारांश

सरकारमाथि कांग्रेसको  असन्तुष्टि, जनविश्वास गुमाएको आरोप
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारका प्रमुख कमजोरी सार्वजनिक गरेको छ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको अभावबाट ग्रसित रहेको आरोप लगाए।

उनले सरकार जनताका वास्तविक समस्या समाधान गर्नुभन्दा विवादित विषयमार्फत जनध्यान अन्तै मोड्ने प्रयासमा केन्द्रित रहेको दाबी गरे। "सरकार जति नै संकटमा परे पनि विषयान्तर गरेर जिम्मेवारीबाट उम्किन खोजिरहेको देखिन्छ," उनले भने।

चालिसेले लोकतान्त्रिक शासन व्यवस्था सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित हुनुपर्ने उल्लेख गर्दै सरकारका गतिविधिले संवैधानिक मूल्य, लोकतान्त्रिक प्रणाली र नागरिक अधिकारमाथि प्रश्न उठाएको बताए।

उनले प्रतिपक्षको हैसियतले सरकारका कमजोरी औँल्याउनु आफ्नो संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनप्रतिको प्रतिबद्धतामा गम्भीर सुधार आवश्यक रहेको धारणा राखे।

कांग्रेसले सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न पूर्ण रूपमा असफल भएको दाबी गर्दै यसका कारण सरकारप्रतिको जनविश्वास निरन्तर घट्दै गएको जनाएको छ। चालिसेका अनुसार जनता अब नाराभन्दा परिणाम, आश्वासनभन्दा प्रभावकारी कार्यान्वयन चाहिरहेका छन्।

उनले राजनीतिक स्टन्टमार्फत होइन, पारदर्शी र जवाफदेही शासनमार्फत मात्र सरकारले जनविश्वास पुनः प्राप्त गर्न सक्ने चेतावनी दिँदै त्यसो हुन नसके इतिहासले वर्तमान सरकारलाई समस्या समाधानभन्दा राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij