Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा महामन्त्री आचार्यले उठाए संसद्कै कार्यशैलीमाथि प्रश्न, सुधार समिति गठनको माग


सारांश

रास्वपा महामन्त्री आचार्यले उठाए संसद्कै कार्यशैलीमाथि प्रश्न, सुधार समिति गठनको माग
images

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले नेपालको संसदीय अभ्यासप्रति प्रश्न उठाउँदै संसदीय सुधार समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले अहिलेको संसदीय अभ्यास प्रभावकारीभन्दा पनि कर्मकाण्डी बन्दै गएको टिप्पणी गरे। उनले संसद्को कामकारबाहीले सांसदहरूको क्षमता र भूमिकालाई अपेक्षित रूपमा अघि बढाउन सकेको छ कि छैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले सांसदहरू वर्तमान संसदीय अभ्यासबाट वास्तवमै सन्तुष्ट छन् कि छैनन् भन्ने पत्ता लगाउन सर्वेक्षण गर्नसमेत प्रस्ताव गरे।

‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोल्दै आएको छु। हामी सांसदहरू अहिलेको अभ्यासबाट खुसी छौँ त? एउटा सर्वेक्षण गरौँ,’ आचार्यले भने।

उनले वर्तमान अभ्यासले सांसदहरूको क्षमता सही दिशामा विकास गरिरहेको छ कि छैन भन्ने प्रश्नसमेत उठाए। आफ्नो बुझाइसँग धेरै सांसद सहमत भए संसद्को कार्यशैली नै पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ।

‘यदि अहिलेको अभ्यास ठीक छ भने मलाई समस्या छैन। तर मेरोजस्तै बुझाइ धेरै सांसदको हो भने संसदीय अभ्यास सुधार्न सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने।

संसद्लाई थप सिर्जनात्मक, प्रभावकारी र परिणाममुखी बनाउन छुट्टै संसदीय सुधार समिति गठन गरी अध्ययन तथा सुधारका काम अघि बढाउनुपर्ने आचार्यले बताए। उनले यस विषयमा सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij