सारांश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, चिनियाँ राजदूत झाङ माओमिङसँग पनि प्रधानमन्त्री शाहले भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री बनेपछि शाहले नेपालमा रहेका दुई ठूला छिमेकी देशका राजदूतसँग गरेको यो पहिलो छुट्टाछुट्टै ‘वान–टु–वान’ भेटवार्ता हो।