काठमाडौं । संघीय संसदमा गणपूरक संख्या (कोरम) नपुगेर बैठक स्थगित भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले सांसदहरू सदनमा भन्दा बढी मन्त्रालयका मन्त्री र सचिव भेट्न धाउनुपर्ने अवस्था रहेको बताएकी हुन्।
उनले जनताका समस्या र विकास निर्माणका विषय लिएर सांसदहरू दिनभर विभिन्न मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेकी छन्। उनका अनुसार, आफूले उठाएका विषयको सुनुवाइ नहुँदा एउटै कामका लागि पटक–पटक मन्त्रालय पुग्नुपर्ने अवस्था छ।
तामाङले लेखेकी छन्, ‘सांसदहरू सबै मन्त्रालयको ढोकामा कति बेला मन्त्री र सचिवलाई भेट्ने र गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ, अनि पुग्छ त सदनमा संख्या?’
सरकार र प्रधानमन्त्री परिवर्तन भए पनि कर्मचारीतन्त्र तथा मन्त्रालयको काम गर्ने शैलीमा अपेक्षित सुधार नआएको उनको गुनासो छ। आफूहरूले राखेको मागसमेत महिनौँसम्म सम्बोधन नहुने र दिनमै पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उनले बताएकी छन्।
जनताका समस्या समाधानका लागि सम्बन्धित कार्यालयमा फोन गर्दा फोन नउठ्ने, व्यस्त रहने वा उठे पनि मन्त्रालयमै आएर मन्त्रीलाई भेट्न सुझाव दिने गरिएको उनको भनाइ छ। मन्त्रालय पुगेपछि पनि मन्त्रीहरू बैठकमा व्यस्त हुने भएकाले प्रतीक्षालयमा घण्टौँ कुर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरेकी छन्।
शिक्षा, स्वास्थ्य, कानुन तथा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयमा फरक–फरक विषय लिएर पुग्नुपर्ने भएकाले सांसदहरूलाई समय व्यवस्थापन गर्नसमेत कठिन भइरहेको तामाङले बताएकी छन्।
उनले सांसदको जिम्मेवारीसँगै व्यक्तिगत जीवन र छोराछोरीको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने भएकाले मन्त्रालय धाउने प्रक्रियाले थप समस्या सिर्जना गरेको गुनासो गरेकी छन्।