Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेसको केन्द्रीय समिति २८१ सदस्यीय बन्दै


सारांश

कांग्रेसको केन्द्रीय समिति २८१ सदस्यीय बन्दै
images
 
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएर २८१ सदस्यीय बनाउने तयारी गरेको छ।

२०७८ सालको १४औँ महाधिवेशनबाट १६८ सदस्यीय रहेको केन्द्रीय समिति गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो। अहिले १५औँ महाधिवेशनअन्तर्गत समिति फेरि विस्तार गर्ने सहमति बनेको हो।

विधान संशोधनमार्फत केन्द्रीय समितिको संख्या बढाउने प्रस्ताव महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन गरी बन्द सत्रमा पेस गर्ने तयारी छ।

प्रस्तावअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, तीन महामन्त्री र १४ सहमहामन्त्री रहनेछन्। सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र तीन जना मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। तीन मनोनीतमध्ये एक जना महिला अनिवार्य हुनेछिन्।

त्यस्तै खुलातर्फ ४५ र खुला महिलातर्फ १७ जना केन्द्रीय सदस्य रहने प्रस्ताव छ। अन्य विभिन्न क्लस्टरमा पनि यसअघिको तुलनामा प्रतिनिधित्व बढाउने तयारी गरिएको छ।

नेताहरूको व्यवस्थापनका लागि केन्द्रीय समितिको आकार बढाउन लागिएको चर्चा भइरहे पनि कांग्रेस प्रवक्ता देवराज चालिसेले भने संख्या वृद्धि नेतृत्व व्यवस्थापनका लागि नभई पार्टीको कार्यक्षेत्र विस्तारसँग सम्बन्धित रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij