Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रामचन्द्रको रामकहानी


सारांश

रामचन्द्रको रामकहानी
images

रामचन्द्र पौडेल बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा २००१ साल असोज २९ गते तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका हुन् । सवितासँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् ।

व्यास नगरपालिका–८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल मध्यम वर्गीय किसान परिवारमा जन्मिएर नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा जोडिए । २०१५ देखि ०२४ को समयमा उनी नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बने ।

यो बीचमा पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मिल्यो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बने ।

२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी सङ्घको संस्थापक सदस्य पनि भए । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा पौडेलको प्रवेश भएको थियो ।  २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य भएका उनी ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।

पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखका रूपमा २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आए । २०४३ मा कांग्रेस केन्द्रीय सदस्य बनेका उनी (२०६२–०६४) दुई वर्ष पार्टीको महामन्त्री भए । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापतिको जिम्मेवारी रहे । सोही समयमा पौडेल कांग्रेस संसदीय दलको नेता पनि थिए । ०७२ सालमा भएको पार्टीको १३ औँ  महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे । 

६३ वर्ष लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताए । २०१८ देखि २०६२ सम्म विभिन्न अवधिमा गरी १५ वर्ष जेलमा उनको बन्दी जीवन व्यतीत भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बने । 

०५६ सालमा तनहुँ–२ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए ।

०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । 

 ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँपटक निर्वाचित भएका पौडेलले ०७४ को आम निर्वाचनमा तनहुँ – १ मा हार चाखे । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ–१ बाट संसदीय निर्वाचनमा छैटौँ जित दर्ता गरे । 

 राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सक्रिय राजनीतिबाट बिदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij