सारांश
काठमाडौँ । सरकारले मौलिक तथा सांस्कृतिक महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड रुपैयाँसम्म अनुदान दिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै इच्छुक व्यक्ति तथा संस्थालाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
मन्त्रालयका अनुसार एउटा चलचित्रले पटकथा लेखन, निर्माण र निर्माणपछिको कार्यका लागि गरी कुल ९५ लाख रुपैयाँसम्म अनुदान पाउन सक्नेछ।
पटकथा लेखनका लागि पाँच लाख, चलचित्र निर्माणका लागि ७० लाख र निर्माणपछिको कार्यका लागि २० लाख रुपैयाँसम्म उपलब्ध गराइनेछ। पटकथा लेखनतर्फ पाँच, निर्माणतर्फ तीन र निर्माणपछिको कार्यतर्फ पाँचवटा चलचित्र छनोट गरिनेछ।
अनुदानका लागि मौलिक कथा भएका तथा नेपालको इतिहास, संस्कृति, पर्यटन, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने चलचित्रलाई प्राथमिकता दिइनेछ। चलचित्रको पटकथा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ।
कार्यविधिअनुसार चलचित्र फोरके प्रविधिमा खिचिएको र बढीमा ९० मिनेटको हुनुपर्नेछ। अनुदानको रकम अन्य उपकरण वा सामग्री खरिदमा खर्च गर्न पाइने छैन भने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी चलचित्र निर्माण गर्न पनि रोक लगाइएको छ।
आवेदनका लागि नागरिकताको प्रतिलिपि, पूर्ण पटकथा, संवाद, दर्ता प्रमाण, कार्ययोजना र अनुमानित बजेटलगायतका कागजात पेस गर्नुपर्नेछ। मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको समितिले आवेदन मूल्याङ्कन गरी चलचित्र छनोट गर्नेछ।
छनोट भएका आवेदकलाई सुरुमा २० प्रतिशत रकम अग्रिम उपलब्ध गराइनेछ भने बाँकी रकम तोकिएको प्रक्रिया र सर्तअनुसार किस्ताबन्दीमा प्रदान गरिनेछ।