Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गायिका प्रश्नालाई प्रश्न


सारांश

गायिका प्रश्नालाई प्रश्न
images

काठमाडौं । १८ वर्षअघि चलचित्र ‘कर्तव्य’ का लागि रेकर्ड गरिएको गीत हो ‘बादल वर्षा बिजुली…।’

यो गीतमा दिनहुँ हजारौं टिकटक बन्छन् । जसलाई प्रश्ना शाक्य र आनन्द कार्कीले गाएका थिए । गीतको शब्द करुण थापाले लेखेका थिए भने सचिन सिंहले संगीत भरेका छन् । 

प्रश्नासँग गरिएको संवाद :

–  १८ वर्षपछि यो गीत कसरी भाइरल भयो ?

अहिले आएर एकाएक भाइरल भएको देख्दा म आफैं अचम्भित छु । 

पहिला कुनै गीत हिट भयो भने त्यो गीत सुन्नलाई मान्छेहरु त्यसको सीडी खोज्न कहाँ कहाँ पुग्थे । हिट हुनेबित्तिकै त्यो गीत वा चलचित्रको हरेक पात्रहरुको खोजी हुन्थ्यो । अहिले त कति सहज भएको छ । मोबाइलबाट आफूलाई हेर्न मन लागेको हरेक कुरा हेर्न मिल्छ । तर पनि यो गीतको गायकगायिकाको बारे भने युट्युबतिर त्यति खोजी भएको छैन ।

– टिकटकमा गायिकाको नाम अर्कै राखिएको थियो, कस्तो महसुस भयो ?

त्यस्तो देखेपछि मैले त स्टाटस नै लेखेकी थिएँ । जसले पनि हाम्रो गीतको भिडियो टिकटकमा राख्नुभएको थियो, उहाँलाई पक्कै पनि गीत मन परेरै राख्नुभएको हो । त्यसको लागि हामी खुशी पनि छौं । तर, अलिकति गीतको बारेमा बुझेर गायकगायिकाको नाम सही राखिदिनुभएको भए हुन्थ्यो भन्ने गुनासो पनि राखेकी थिएँ ।

– आफैंले यो गीतमा टिकटक बनाउनुभयो ?

मैले खासै यो गीतमा टिकटक बनाएकी छैन । ज-जसले बनाउँ भन्नुभयो, उहाँहरुसँग बनाएँ ।

– गीत भाइरल भएर चाहिँ व्यस्तता भएको छ कि छैन ?

गीत भाइरल भएर व्यस्तता केही थपिएको छैन । म अहिले ‘मेरो भ्वाइस युनिभर्स’ मा व्यस्त छु । कार्यक्रमको जिम्मेवारी छ । धेरै कुराहरु गर्न बाँकी छ । त्योदेखि बाहेक म रेर्कडिङमा व्यस्त हुन्छु । विज्ञापनको भ्वाइसओभरहरु गर्छु । जिंगलहरु गाउँछु । यो मैले विगत १५, १६ वर्ष अघिदेखि गर्दै आएको काम हो ।

– यो गीतमा विशेष के छ ? 

संगीत, शब्द र एरेन्ज सबै राम्रो छ । कहिल्यै गीत नसुनेकाहरु पनि झुम्ने खालको गीत छ ।

– अहिलेसम्म कतिवटा चलचित्रका गीतहरु गाउनुभयो ?

 दर्जनभन्दा बढी नै छन् । मैले गाउन त धेरै चलचित्रको गीत गाएकी छु । तर, जुन तरिकाले मैले चलचित्रका गीतहरु गाएँ, त्यो हिसाबले भने मलाई प्रस्ताव आएको छैन । म सेन्टिमेन्टल खालको गीत गाउने मान्छे । चलचित्रमा भावुक तवरका धेरै गीत गाएकी छु । हिट पनि भएका छन् । तर, चटपटे गीत हिट भएको चाहिँ यही ‘बादल वर्षा बिजुली’ नै हो ।

– ‘बादल वर्षा बिजुली’ गाउँदा कति पारिश्रमिक पाउनुभएको थियो ?

पारिश्रमिकको कुरा चाहिँ नगर्दै ठीक होला । पहिलो चलचित्र ‘तिम्रो मेरो साइनो’ गर्दा पारिश्रमिक पाएकी थिएँ । तर, यो ‘बादल वर्षा बिजुली’ को भने छुट्टै कहानी छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij