सारांश
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले माओवादी पार्टी व्यापक पुनर्निर्माणको सम्भावना र विघटनको खतराको दोसाँधमा रहेको बताएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यही विरोधाभासका कारण आफ्नो पार्टीको पहिचान गुम्ने खतरामा रहेको बताए।
प्रतिवेदनअनुसार बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेका छन् ।
यसलाई बढाउनका लािग पार्टीले ‘जनतासँग पार्टी अभियान’ तीन महिनासम्म सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको छ । जसअन्तर्गत वडालाई मूल आधार बनाएर ६,७४३ वटा कमिटी तयार गर्ने, अनुशासनसँग आयोगले सम्बन्धित उजुरीहरूको तत्काल छानबिन गर्ने र सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको १० प्रतिशत लाई संगठित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
साथै, सबै कमिटीलाई डिजिटल बनाउने, जनमत बढाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव पनि बैठकमा आएको छ ।
जिम्मेवारी बाँडफाँट अव्यवस्थित भएको गुनासो बढिरहेको बेला पार्टी केन्द्रका सचिवले प्रदेशको र सबै केन्द्रीय सदस्यले वडाको जिम्मेवारी लिएर संगठन निर्माणमा लाग्ने प्रस्ताव बैठकमा गरिएको छ ।
साथै, विचार मिल्नेसँग पार्टी एकता र ध्रुविकरणको अभियानलाई अगाडि बढाउने, समाजवादी मोर्चाको कामलाई निर्देशनअनुसार कार्यन्वयनमा लैजाने विषय पनि प्रचण्डको मौखिक प्रतिवदेनमा छ ।
बैठकलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्र पार्टी जस्तै नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘हामीसँग नेता कार्यकर्ताको विशाल पङ्क्ति त छ, तर पार्टी चाहिं पार्टीजस्तो भइराखेको छैन,’ प्रचण्डले भने, ‘हामीले कम्युनिस्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ । मलाई विश्वास छ, केन्द्रीय समितिका सबैले गम्भीरताका साथ, जिम्मेवारीका साथ र अनुशासित रूपले रचनात्मक बहस, छलफल गरी पार्टी पुनर्निर्माणको अभियानको ऐतिहासिक थालनी गर्न सहयोग पुर्याउनुहुनेछ ।’