सारांश
काठमाडौं । प्रेमको प्रतीकका रूपमा रहेको प्रसिद्ध पर्यटकीय स्थल पाल्पाको रानीमहल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरू घुम्न जाने गरेका हुन्छन् ।
पाल्पाको सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठुलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैँचा आदि छन् । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानी महललाई तानसेन नगरपालिकाले सङ्ग्रहालय बनाएर संरक्षण गरेको छ ।
तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानी महल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रूपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानी महल नजिकै खाना तथा बास बस्नका लागि होटेल तथा रेष्टुराहरु पनि सञ्चालित छन् ।
विक्रम संवत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानी महल दरबार पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ । पाल्पा गौँडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवङ्गत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानी महल दरबार बेलायती इन्जिनियरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।