सारांश
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले व्यक्तिगत लाभ वा पैसा कमाउने उद्देश्यले पार्टीमा नआउन कार्यकर्तालाई चेतावनी दिएका छन्।
कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा सेवा र श्रमको भावना लिएर मात्र सहभागी हुन आग्रह गरे। पैसा कमाउने उद्देश्य भएकाहरूलाई पार्टी छाड्न सुझाव दिँदै उनले बजेटमा अनियमितता गर्ने सोच राख्न नहुने बताए।
उनले भने, ‘यदि पैसा कमाउने उद्देश्यले पार्टीमा आउनुभएको हो भने अहिले नै निस्किनुस्। पाँच लाखको बजेट ल्याएर दुई लाख गोजीमा हाल्ने र तीन लाखको मात्रै काम गर्ने सोच कसैले नराखोस्।’
साम्पाङले पार्टीपङ्क्तिलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै जहाँ आफ्ना उम्मेदवार विजयी हुन्छन्, त्यहाँ श्रमदानमार्फत बजेटभन्दा बढी काम गर्न सकिने दाबी गरे। उनका अनुसार श्रमदानबाट निर्माण भएका संरचना बढी टिकाउ हुने गर्छन्।
उनले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिँदै पार्टीभित्र भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिए। ‘हाम्रो पार्टीका कसैले भ्रष्टाचार गरेको पाइए उसलाई खम्बामा बाँधेर, मोसो दलेर र जुत्ताको माला लगाउन म आफैं आइपुग्छु,’ उनले भने।