सारांश
काठमाडौं । विशेष महाधिवेशनमा सहभागी नभएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासहितको संस्थापनइतर पक्ष पार्टीभित्रको मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनमा सहभागी हुने दिशातर्फ सकारात्मक देखिएको छ।
चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने तयारीमा रहेको उक्त पक्षले निष्पक्ष महाधिवेशनको सुनिश्चितता माग गर्दै विधानको धारा निलम्बन गरेर भए पनि १४औँ महाधिवेशनबाट निर्वाचित १११ जना नेतालाई केन्द्रीय समितिमा समेट्ने र एकता समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ। कांग्रेसले असोजमा नियमित १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने अधिकांश क्रियाशील सदस्यता अद्यावधिकको काम अन्तिम चरणमा पुगेको छ।
यसैबीच महामन्त्री गुरूराज घिमिरेले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। उनका अनुसार संस्थापनइतर पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकता स्वीकार्दै पार्टीको बृहत्तर एकतामै जोड दिएको छ। उनीहरूले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको मुख्य भूमिकामा समेट्ने, निर्वाचन तथा सदस्यता व्यवस्थापनलगायतका समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव पनि राखेका छन्।
महामन्त्री घिमिरेले विधानले अनुमति दिने हदसम्म लचकता अपनाएर मतभेद अन्त्य गर्ने प्रयास जारी रहने बताए। तर विधान संशोधन वा निलम्बन गर्नुपर्ने केही प्रस्तावमा भने थप छलफल आवश्यक रहेको उनको भनाइ छ।
खड्काले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका संरचनालाई समायोजन गरेर अघि बढ्नुपर्ने अडान दोहोर्याएका छन्। तर सभापति गगन थापाले १४औँ र विशेष महाधिवेशनबाट आएका कार्यसमितिलाई समायोजन गर्नु विधानविपरीत हुने भन्दै यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारिसकेका छन्।