Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मनीष झाको प्रश्न : ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’


सारांश

मनीष झाको प्रश्न : ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष झाले सञ्चार गृह तथा अन्य सार्वजनिक स्थानमा शंकास्पद रूपमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधिमा संलग्न जो–कोहीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता सम्बोधन गर्नु भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “सञ्चार गृहलगायतका स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, आफैँ थप आतङ्कित बनाउने होइन।”

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले यस्ता गतिविधिले सुशासनको सन्देश नदिने टिप्पणी गरेका छन्। “यस्तो बचपना देखाएर राजकाज चल्छ र ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?” भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

झाले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने कुनै पनि अराजक गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै यस घटनाप्रति आफ्नो घोर असहमति र आपत्ति रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij