Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै


सारांश

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
images

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र हातमा घण्ट धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो । देवीको स्वरूप शान्त, करुणामयी र शक्तिशाली मानिन्छ ।

चन्द्रघण्टा देवीको पूजा आराधना गर्नाले शक्ति प्राप्त हुनुका साथै पाप नाश हुने धार्मिक विश्वास छ । विशेषगरी सङ्गीत क्षेत्रमा लागेका व्यक्तिले यस दिन देवीको आराधना गर्ने परम्परा रहेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको विशेष पूजा आराधना गर्दा शक्ति प्राप्त हुने विश्वासका आधारमा भक्तजनले साधना गर्ने गर्छन् ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्री देवीको पूजा गरिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिएको थियो । आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ ।

नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ । यस अवधिमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

नवरात्रको चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij