सारांश
काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेपछि टीकापुर घटनाका योजनाकार रेशम चौधरीको जन्मकैद स्थापित भएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार उनको विरुद्धमा फैसला सुनाएको हो । चौधरी २०७४ फागुन १५ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालत दिपायलले पनि त्यसलाई सदर गरेको थियो । सर्वोच्चले पनि जिल्ला र उच्चको फैसलालाई कुनै छेडछाड नगरेपछि चौधरीले पूरा सजाय भुक्तान गर्नुपर्ने भएको छ ।
फैसलाको पूर्ण पाठ आएपछि रेशमले पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् । उक्त पुनरावेदन दर्ता गर्ने वा नगर्ने इजलासको हातमा हुन्छ ।
टीकापुर घटना भएको बेलाको कानूनअनुसार जन्मकैदको अवधि २० वर्ष थियो । २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी फौजदारी अपराध संहिताले त्यसलाई बढाएर २५ पुर्याएको छ । घटना भएको बेलाको कानून र विद्यमान कानूनमा सजाय फरक भएमा जुनमा सजाय कम छ, त्यो लागू हुन्छ । त्यसैले रेशमका हकमा २० वर्षको जन्मकैद लागू हुने छ ।
रेशमले पक्राउ परेयता पाँच वर्षभन्दा बढी समय कारागारमा बिताइसकेका छन् । अब उनले थप १५ वर्ष जेलजीवन भुक्तान गर्नुपर्ने छ ।