सारांश
आजदेखि काठमाडौँमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन् ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन महानगरले गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाले महानगरभित्रका हलमा सो चलचित्र चल्न रोक लगाएको हो ।
काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर बालेन शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जाने तयारीमा जुटेका छन् ।
“हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ । उहाँहरूसँग छलफल गरेर हिन्दी सिनेमा चलाउन नदिने काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध अदालतमा जाने तयारीमा छौँ,” सिनेमा घर क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले भने, “समय अभाव भएन भने हामी आजै अदालत जाने छौँ ।”
“सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । सञ्चार मन्त्रालयले पनि विज्ञप्तिमा सिनेमा चलाउन दिने वा नदिने स्पष्ट गरेको छैन, ध्यानाकर्षण भयो मात्रै भनेको छ,” उनले भने, “सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने हो । सेन्सर बोर्ड संघीय सरकार मातहत हुने भएकाले त्यसको निर्णय मान्नु पर्छ कि पर्दैन भन्ने पनि सरकारले स्पष्ट गर्नु पर्ने हो ।”