सारांश
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा हिनामिना गर्नेलाई अनुसन्धानको दायरामा ल्याएको छ। उसले मंगलबार ७ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। जसमा पूर्वनिर्वाचन आयुक्त सुधीर शाहदेखि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा कर्मचारी, व्यवसायी र भूमाफियासहित ४ सय जनाविरुद्ध किर्ते र ठगीमा मुद्दा दायर गर्नुपर्ने र ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष निकालेको छ।
पक्राउ परेका को हुन् ?
१. सुधीरकुमार शाह
पूर्वनिर्वाचन आयुक्त शाहको राणा परिवारसँग निकटको नाता पर्छ। शाहले ललिता निवासको १ रोपनी ११ आना जग्गा श्रीमती उर्मिलाको नाममा राखेको आरोप छ। २०४९ सालको पहिलो चरणमा यो जग्गा व्यक्तिको नाममा दर्ता हुँदा शाह भक्तपुर मालपोत कार्यालयका प्रमुख थिए। अख्तियारले भने शाहलाई उन्मुक्ति दिएको थियो। श्रीमती उर्मिलालाई भने अख्तियारले मुद्दा चलाएको थियो।
२. सुरेन्द्रमान कपाली
कपाली मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत थिए। उनकै पालामा ललिता निवासको २ रोपनी ८ आना जग्गा कपालीको बुहारी नाता पर्ने शान्ति मल्लको नाममा जग्गा बकस गरिएको थियो। अख्तियारले उनीविरुद्ध २ करोड २६ लाख ८५ हजार ५ सय बिगो कायम गरेर मुद्दा हालेको छ।
३. धर्मप्रसाद गौतम
गौतम भूमिसुधार तथा व्यवस्थापन विभागका शाखा अधिकृत थिए। सीआईबीले फेला पारेको कागजमा धर्मप्रसाद गौतमको योजनामा उक्त जग्गा शान्ति मल्लको नाममा बकस पास गरिएको थियो।
४. हुपेन्द्रमणि केसी
केसी तत्कालीन भूमि सुधार मन्त्रालयका उपसचिव हुन्। उनले मालपोत कार्यालय डिल्लीबजारको मालपोत अधिकृत हुँदा छुट भएको भन्दै ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएका थिए।
उनीविरुद्ध अख्यिारले नै ३० करोड ३९ लाख ९६ हजार बिगोसहित मुद्दा हालेको थियो। सरकारी अधिकारीमा ठूलो बिगो मुद्दा पर्नेमध्ये उनी पनि हुन्। अनुसन्धानमा उनले १२ आना २ पैसा जग्गा गैरकानुनी रूपमा सुनीति राणाको नाममा हालसाबिक, नामसारी र छुट जग्गा दर्ता गर्ने निर्णय गरी जग्गाधनी प्रमाणपत्र दिएको देखिएको छ।
५. गोपाल कार्की
कार्की डिल्लीबजार मालपोत कार्यालयका पूर्वखरिदार हुन्। ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारीमा उनको पनि संलग्नता देखिएको सीआईबीको अनुसन्धानमा छ।
६. कलाधर देउजा
ललिता निवासको जग्गा राणा परिवारको नाममा दुई पटक फिर्ता दिने निर्णय हुँदा देउवा डिल्लीबजार मालपोत कार्यालयको मालपोत अधिकृत थिए। कलाधर देउजाका साढुभाइ इन्द्रबहादुर थापा क्षत्रीको नाममा ललिता निवासको दुई रोपनी जग्गा पास भएको सीआईबीको भनाइ छ।
७. मीनबहादुर गुरुङ
गुरुङ भाटभटेनीका सञ्चालक हुन्। गुरुङले बिचौलिया र मालपोतका कर्मचारीसँग मिलेमतो गरी ललिता निवासको जग्गा खरिद गरेको सीआईबीको भनाइ छ। यसै प्रकरणमा विशेष अदालतले २०७७ सालमा गुरुङसँग २ करोड धरौटी मागेको थियो। गुरुङमाथि नक्कली मोही खडा गर्न किर्ते गरेको आरोप छ। अख्तियारले गुरुङलाई ३९ करोड २७ लाख ६८ हजारको बिगो कायम गरेर मुद्दा हालेको छ। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।