Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रचण्ड र सीताको पहिलो भेट देखि विवाह सम्म


सारांश

प्रचण्ड र सीताको पहिलो भेट देखि विवाह सम्म
images

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

 गाउँकै एक विवाह समारोहमा प्रचण्डले पहिलोपटक सीतालाई १५ वर्षको उमेरमा देखेका थिए। फागुनमा विवाह समारोहबीच भएको भेटघाट अन्ततः वैशाखमा विवाहमै बदलियो । 

यी दुवैको परिवार कास्कीबाट चितवन झरेको हो । परिवारको जेठो छोरा भएकाले छिटै प्रचण्डको विवाह गरिदिए बुहारीले घर धान्ने सोच परिवारमा थियो, त्यसैले १६ वर्षकै उमेरमा प्रचण्डको सीतासँग विवाह हुन पुग्यो । 

त्यतिबेला यी दुवैको घर दुई किलोमिटर दूरीमा पर्थ्यो । पहिलो भेटपछि दुवैबीच चिनजान र बोलचाल समेत भएको थियो । विवाहको चाँजोपाँजो मिलाउन भने सीताका मामा केशवप्रसाद गौतमले विशेष भूमिका निभाएका थिए । 

सुरुमा सीताको परिवारले प्रचण्डलाई छोरी दिन मानेको थिएन, घरमा धेरै दिदीबहिनी छन् भनेर । 

प्रचण्डको परिवारले विवाहको प्रस्ताव सीताका मामा (केशव)मार्फत लगेको थियो । यस सम्बन्धमा २०७५ को असोजमा पत्रकारसँग कुराकानी गर्दै सीताका मामा (केशव)ले भनेका थिए, ‘सीताको बुवाआमासमक्ष मैले प्रस्ताव लैजाँदा सुरुमा छोरी दिन मान्नुभएन । उहाँहरूको कुरा थियो — छोरीले खाएको घर र डढेलोले खाएको वन राम्रो हुँदैन । यसको अर्थ थियो, प्रचण्डका दिदीबहिनी धेरै हुनु ।’ 

केशव थप भन्छन्, ‘केटो एकदम ठीक छ । स्कुलमा पनि चलाख छ । झैझगडा प¥यो भने मिलाउन जान्छ । केटो यति चलाख छ कि केही गर्न सकेन भने पनि रूखको टुप्पामा राखेर पाल्छ । यति भनेपछि सीताका बुवाले भन्नुभयो — भान्जीले दुःख पाइ भने तेरो जिम्मा । यसरी मैले विवाहको कुरा मिलाएँ ।’

सीताको माइती पक्ष धनी र प्रचण्डको परिवार गरिब भएका कारण सीता–प्रचण्डको विवाह गराउन मुस्किल भएको थियो । माइती पक्षले सीताको विवाह धुमधामसँग गरिदियो । 

सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij