Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय


सारांश

यस्तो छ कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय
images

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । महासमिति बैठकको तिथि मितिदेखि वार्षिक कार्यक्रमको कार्यतालिका पारित गरेको छ ।

जसमा कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक काठमाडौँमा गर्ने निर्णय छ ।

यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ । यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खट्ने छन् । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुने कांग्रेसले जनाएको छ ।

यस्तै साउन २७ मा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र सबै स्थानीय तहमा यो कार्यक्रम चल्नेछ ।

भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको छ  ।

कांग्रेस बैठकमा पार्टीका दिवङ्गत नेताको सम्झनामा विभिन्न कार्यक्रम गरेर जनतामाझ जाने कार्यक्रम अगाडि सारेको छ । आगामी भदौदेखि अर्को वर्षको जेठ १५ मा कार्यक्रम घोषणा गरेको छ ।

कांग्रेसले उच्छृंकल गतिविधि र सामाजिक विसंगतिजन्य विषयमा संलग्न हुने कार्यकर्तालाई पार्टी सदस्यता अबिलम्ब खारेज हुने निर्णय गरेको छ । बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

कारबाही फुकुवा हुनेमा जुम्ला १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित देवेन्द्र शाही र सर्लाही २ को १ बाट निर्वाचित जंगीलाल राय रहेका छन् । नेपाली कांग्रेस जुम्लाका पूर्वकोषाध्यक्ष शाहीले कांग्रेसकै कर्णाली प्रदेश सभापति ललितजंग शाहीविरुद्ध बागी उम्मेदवारी दिएका थिए भने रायले गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसकै चुनाव चिन्ह लिएर लडेका थिए । उम्मेदवारी फिर्ता लिन पार्टीको निर्देशन नमानेपछि उनी कारबाहीमा परेका थिए । यस्तै जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताए ।

बैठकको निर्णयअनुसार जिल्लाले रिपोर्ट बुझाएपछि प्रक्रिया अगाडि बढाउने उपसभापति पूर्णबहादुर खड्काको भनाइ थियो ।

यस्तै बैठकले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग पनि गरेको छ ।

कांग्रेस बैठक भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे भने मौन बसेको छ ।

बैठकले खाणबारे निर्णय नलिएपछि महामन्त्री गगन थापाको फरक मत राखेको छ । बैठकमा पनि महामन्त्री थापाले  खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए ।  

कांग्रेस बैठकले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारलाई माग गरेको छ । महामन्त्री शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको भन्दै बैठकले सुख्खा क्षेत्र घोषणाको माग गरेको बताए ।

सात दिन चलेको बैठकमा आफ्नो धेरै आलोचना नभएकोमा धन्यवाद दिएर सभापति देउवाले बैठक टुंग्याएका छन् ।

उनले भने,’धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’ बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत देउवाले बताए ।  

बैठकमा उठेका जवाफ सभापतिकोतर्फबाट उपसभापति खड्काले दिइसकेकाले देउवाले ‘धेरै बोल्नु छैन’ भन्दै कुरा टुंग्याएका थिए । तर देउवाले अर्को केन्द्रीय कार्यसमिति बैठक भने आजै बोलाएर विधान कार्यान्वयनको संकेत देखाएका छन् ।

बैठक टुगिँदै गर्दा देउवाले असोज २ गतेका लागि केन्द्रीय समितिको अर्को बैठक बोलाएका छन् । विधान अनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्ने व्यवस्था छ। 

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij