Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस बनाउन सकेनौं भने आफ्नो उपादेयता गुमाउँछ : डा. मिनेन्द्र रिजाल


सारांश

कांग्रेस बनाउन सकेनौं भने आफ्नो उपादेयता गुमाउँछ :  डा. मिनेन्द्र रिजाल
images

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पछिल्लो कार्यसमिति बैठकले थोरै आश जगाएको बताउँछन् । डा. रिजाल सभापतिको आत्मसन्तुष्टि र महामन्त्रीहरूको अत्यासको भाव दुवैको आलोचक हुन् ।

प्रस्तुत छ, कांग्रेस केन्द्रीय सदस्य रिजालसँग गरेको कुराकानी :

अहिले कांग्रेस कहाँ छ ?

समृद्ध परम्परा भएको कांग्रेस पछिल्लो समय कहाँ उभिएको छ? निर्वाचनको समयमा दुई–दुई वटा घोषणापत्र आयो होला, महाधिवेशनमा आ–आफ्नो प्लेटफर्म के हो भनेर दस्तावेज आयो होला । नेताहरूले अबको दिनमा राजनीति कसरी गर्छु ? सरकार कसरी चलाउँछु पनि भन्नुभएको होला । त्यसका बाबजुद कांग्रेस कहाँ उभिएको छ भन्ने उत्तर चाहिं आएको छैन । मलाई लाग्छ, कांग्रेसभित्र ध्यान विग्रहमा धेरै भयो ।

कस्तो ध्यान विग्रह ?

सभापतिजीको ध्यान गठबन्धनमा रहेका दलहरूले चित्त नदुखाउन्, गठबन्धन कायम रहोस् भन्नेतिर रह्यो । ओलीजी जसरी हिजो आफ्नो सरकारमा बसेका मान्छेहरूलाई लिएर पहिले वाम गठबन्धनको नाममा, पछि एउटै कम्युनिस्ट पार्टीको नाममा अगाडि बढ्नुभयो, सायद यसबाट अलि बढी झस्किनु पनि भएको होला ।

महामन्त्रीहरू दोस्रो तहमा आइपुग्दा पनि म त्यहाँ पुगेको हुँ, यो जिम्मेवारी हो भन्ने महसुस गर्नुभएको जस्तो लाग्दैन । बल्ल यो केन्द्रीय कार्यसमितिमा महामन्त्री (गगन) थापाले चाहिं म कांग्रेसको महामन्त्री हुँ, महामन्त्रीले सोच्ने तरिका यो हो भनेर कहाँ म उभिन्छु, मेरो ठाउँ कहाँ भनेर अलिअलि व्याख्या गर्न कोसिस गरेका छन् । त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।

राष्ट्रिय मुद्दाहरूमा कांग्रेस देखिएन, सुनिएन किन?

सभापतिको भावलाई आत्मसन्तुष्टिको भाव भन्छु ।

अघिल्लो चुनावभन्दा निकै ठूलो क्षति हुनसक्थ्यो, तर कुनै न कुनै तरिकाले गठबन्धन बनाएका कारण वा अर्को पार्टीलाई गठबन्धन गर्ने अवसरबाट वञ्चित गरेका कारण कांग्रेसलाई ५ वर्ष मज्जैले उपस्थित हुने ठाउँमा त मैले पुर्‍याएँ । सबैतिर कांग्रेसको सरकार बनेकै छ । त्यो सरकारले काम गरेर देखायो भने बोलिराख्नुपर्ने के छ र भन्ने होला ।

महामन्त्रीहरूलाई मान्छेहरूले अपेक्षा पनि गरेका छन्, हिजोको भाष्य पनि हस्तक्षेपकारी भूमिका भन्ने थियो । तर जे चलिरहेको छ, त्यसमा आफ्नो हैसियत राखेर बस्ने मात्र हुने पो होला भन्ने त्रास होला । त्यो त्रासले सब चिज बदल्नुपर्छ, केही पनि ठीक छैन । मैले यसलाई राजनीतिक रूपमा दुरुपयोग गर्न बोलिरहेको छैन, तर आत्तिंदा त कांग्रेसको झ्याल फेर्ने हो भने झ्याल फेर्ने हो, पर्खाल फेर्नुपर्ने हो भने पर्खाल फेर्ने हो, छाना फेर्नुपर्ने हो भने छाना फेर्ने हो । होइन, आवश्यक छ भने कांग्रेसको जग नै फेर्ने हो भन्दा म पनि आत्तिएँ ।

पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले कति सम्बोधन गर्न सक्यो जस्तो लाग्छ ?

मैले केन्द्रीय कार्यसमितिमै भनें, सभापतिजीलाई लागेको थियो कि कांग्रेस पार्टी र यसको नेतृत्व कहाँनिर उभिएको छ भन्ने मैले नबोलेर नचिनेका हुन् कि ! गुनगान गाथा र नेता भक्ति मात्र होइन, साँच्चै अर्थमा कांग्रेस हेर्नुहुन्छ भने म देखाइदिन्छु । एउटा बोली पनि नकाटी कांग्रेस हेर्नुस्, धारणा बनाउनुस् भन्ने सन्देश दिन खोज्नुभएको थियो होला । त्यसमा उहाँ सफल हुनुभयो ।

सभापतिले आफूलाई गाली गर्नेहरूलाई डण्डा देखाउने, तह लगाउने योजनाका साथ गरिएको हो कि भन्ने ढंगले कांग्रेस बैठकलाई प्रस्तुत गर्ने कोसिस नभएको होइन । त्यसका बाबजुद बैठकको अन्तिम दिन प्रस्तावहरू पास गर्ने क्रममा महामन्त्रीहरूले प्रस्तावको लेखोट गर्नुभयो, जुन किसिमको अभिव्यक्ति दिनुभयो, १८÷१९ महिनामा पहिलो पटक एक तह माथि गएर कुरा गर्न थालेको जस्तो लाग्यो ।

यो भनेको अब कस्तो कांग्रेस बनाउने मैले सोच्ने बेला छ, मेरो जिम्मेवारी हो ।

२०८४ को चुनाव कति कठिन देख्नुहुन्छ ?

हामीले बनाउनुपर्ने जस्तो कांग्रेस बनाउन सकेनौं भने कांग्रेसले आफ्नो उपादेयता गुमाउँछ । उपादेयता गुमाएको कांग्रेसले भोलि २०८४ मा के गर्छ भन्ने कसैको पनि अभिरुचि र चासोको विषय रहन्न । यसअर्थमा पनि म आत्तिनेतिर छैन ।

दोस्रो, मेरो व्यक्तिगत जीवन भन्नुहुन्छ भने कहीं न कहीं त मनमा लागेको छ नि, देश र जनताका लागि मज्जाले योगदान गर्न सक्ने समयमा म प्रतिनिधिसभामा जाने बाटो रोकिएको छ । म त्यहाँ छैन, आउने चार वर्ष पनि हुन्न भन्ने कुरालाई आत्मसात् गर्दै देशका लागि, कांग्रेसका लागि कसरी योगदान गर्न सकुँला भनेर सोचें भने न केही गर्न सकुँला, किनकि अहिले म जिम्मेवारीमा छैन, मैले सोच्दा आफ्नो जीवनलाई अझ दुःखद बनाउँछु।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij