सारांश
काठमाडौं । महेशकुमार श्रेष्ठ विश्वका ८७ देशमा सञ्जाल विस्तार भइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सन् २००३ देखि नै आवद्ध छन् । जापानबाटै ‘राष्ट्रिय समन्वय परिषद’ (एनसीसी) को संस्थापक रहेका उनी संघको अन्तर्राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष हाल उपाध्यक्षको जिम्मेवारीमा छन् ।
‘एनआरएनएमा बसेर जति काम गरें, सबैको चित्त बुझ्ने गरी गरेको छु । सदस्य र डेलिगेट्सहरुको मन दुखाउने गरी कुनै भूमिका निर्वाह गरेको छैन’, उनले भने ।
सन २०१७ देखि २०१८ सालसम्म नेपाल सरकारको विदेशी लगानी समन्वय तथा अनुगमन समितिको सदस्य रहेका श्रेष्ठ चुनौती सामना गर्न सधैं अघि सर्ने आफ्नो बानी भएको बताउँछन् ।
‘यतिबेला एनआरएनए संकटको अवस्थामा छ । संस्थालाई एकताको सूत्रमा बाँधेर हिंड्ने बेला भएको छ । अहिलेसम्म जति जिम्मेवारी लिएर काम गरें, सबै सफल बनाएको छु’, उनले भने, ‘अब नेतृत्व सम्हालेर चुनौती र सम्भावना दुवै काँधमा बोकेर हिंड्न तयार छु ।’
श्रेष्ठ सन् २०१९ देखि २०२१ सम्म गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र सन् २०२१ देखि हालसम्म उपाध्यक्ष छन् । इन्जिनियरिङमा स्नातक गरेर पछि मानवशास्त्र तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी जापानको ग्लोबिस युर्निभर्सिटीबाट एमबीए सकाएर हाल जापानकै केट्सु युर्निभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका छन् ।
उनी एनआरएनएको नेतृत्व सम्हालेर मुलुकको समृद्धिमा काम गर्न अघि बढेको बताउँछन् । सोहीअनुसार व्यवसायी श्रेष्ठले यस पटक एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एनआरएनएको ११औं महाधिवेशनमा यही असोज ३० अर्थात अक्टोबर १७ देखि काठमाडौंमा हुँदैछ ।
श्रेष्ठको व्यवसाय
महेशकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघमार्फत सञ्चालित विश्वव्यापी अभियानमा सुपरिचित नाम हो । नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ जापानका प्रभावशाली व्यवसायीमध्ये एक हुन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र टोनन कम्पनी लिमिटेड जापान (भारतीय र नेपाली भोजनालय) का अध्यक्ष एवं सीईओ छन् । त्यस्तै किवी फल उत्पादन र बजारीकरणमा सक्रिय जेएनएन कृषि कम्पनी लिमिटेड पनि उनैले सम्हालेका छन् । सिटी ट्राभल एण्ड टुर कम्पनी लिमिटेड जापान र सीआई मानव संसाधन कम्पनी लिमिटेड जापानका निर्देशक भएर उनले व्यवसायिक रुपमा छलाङ मारिरहेका छन् ।
जापानमा मात्रै नभएर नेपालमा पनि महेशको व्यवसायिक सञ्जाल लोभलाग्दो छ । नेपालमा उनले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि, सिटी एक्सप्रेस म्यानेजमेन्ट प्रालि, सिटी टेक (आईटी) प्रालि, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, सिटी एक्सप्रेस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा साझेदारी गरिरहेका छन् ।
जलविद्युतसँगै भौतिक पूर्वाधार निर्माणमा श्रेष्ठले लगानी गरेका छन् । हिमालयन पावर पार्टनर लिमिटेड (हाइड्रो पावर प्रोजेक्ट), एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र एनआरएन नेपाल विकास कोष लिमिटेडका उनी निर्देशक छन् ।