Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मेनुका पौडेल : नेपाल आइडल देखि इन्डियन आइडल सम्म


सारांश

मेनुका पौडेल : नेपाल आइडल देखि इन्डियन आइडल सम्म
images

काठमाडौं । २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् ।

सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनलाई आँखा विसेक पार्न हरसम्भव प्रयास गरे । अस्पतालदेखि धामी-झाँक्री सबैतिर धाउँदा पनि केही लागेन । अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले गह्रामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर थन्क्याइदिए, जहाँ उनी जस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए । घरबाट एक घन्टा दूरीमा रहेको यही होस्टलको चौघेराभित्र बितेको थियो मेनुकाको बाल्यकाल ।

आँखा नदेखे पनि मेनुका सानैबाट अति आत्मविश्वासी थिइन् । उनको एक्लै हिँड्ने आदत बाल्यकालदेखिकै हो । ह्वाइट केन हातमा समातेपछि शहरबजार जतासुकै चाहेको ठाउँमा पुगेरै छाड्थिन् । जसरी अहिले एक्लै भारत-नेपाल आउजाउ गर्छिन् ।

 ब्रेल लिपिमा लेखपढ गरेकी उनले सहयोगी राखेर एसएलसी परीक्षा दिएकी थिइन् र फर्स्ट डिभिजनमा पास भएकी थिइन् । आँखा देख्ने कैयौं परीक्षार्थीलाई उनले पछि पारिन् । 

संगीतमा मेनुकाको झुकाव पनि जन्मजात नै थियो। चार वर्षको उमेरमा होस्टल छिर्दा त्यहाँ हार्मोनियमको गुञ्जनले उनलाई तानेको थियो । ७ वर्षको उमेरमा आफैंले हार्मोनियम बजाउन सिकिसकेकी थिइन् । पढाइभन्दा संगीतमा नै उनको लत बस्यो । स्कुलभित्र र बाहिर थुप्रै गायन प्रतियोगितामा भाग लिइ पुरस्कार जितिन् ।

एसएलसी सकेर काठमाडौं आएपछि उनको नयाँ यात्रा सुरु भयो । यो यात्रामा उनको एकमात्र भरपर्दो साथी थियो मोबाइल । मोबाइलबाट खोजीखोजी संगीत क्षेत्रका व्यक्तिहरुलाई साथी बनाइन् । भेट्न पुगिन् । सहयोग मागिन् । तर, कहिल्यै कतै पनि आफ्नो शारीरिक कमजोरीलाई सहारा बनाइनन् । 

छोरीको चाहना अनुसार बुवाले उनलाई म्युजिक पढाउने कलेजमा भर्ना गरिदिए । कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टलमा बसेर उनी आकाशेधारामा रहेको म्युजिक कलेज पढिन् । 

 उनले रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन् र प्रथम भइन् । यसपछि उनको हौसलाले थप उडान लियो । अनि भाग लिइन् नेपाल आइडलको पहिलो सिजनमा । जतिबेला उनको उमेर १८ वर्षको थियो ।

नेपाल आइडलले नै उनलाई देशविदेशमा रहेका नेपालीहरुमाझ चिनायो । यात्रा भने टप ११ मा पुगेर रोकियो । भोटिङका आधारमा उनी आउट भइन् ।

भारतीय टीभी च्यानलले सारेगमपको नयाँ संस्करण सुरु गर्न लागेको थियो । काठमाडौंमा पनि अडिसन हुने उनले थाहा पाइन् । भिडिओ अडिसन दिइन् र सेलेक्ट भइन् । सयौंबाट छानिएर कोलकाता पुगिन् । त्यहाँबाट पनि छानिएर मुम्बईमा अडिसन दिन पुगिन् । पाँचौं चरणमा दिएको अडिसन बल्ल अन एयर भयो, उनी रातारात भाइरल भइन् ।

मुम्बई अडिसनमा मेनुकाले लता मंगेशकरको गीत गाउँदा जजहरुले भयंकर तारिफ गरेका थिए । तर, टप ११ मै उनको यात्रा रोकियो ।

सारेगमपबाट आउट भएपछि नै उनले इन्डियन आइडलको तयारी थालिन् । 

मेनुकाले इन्डियन आइडलको अडिसनमा गोल्डेन माइक पाएपछि सीधै थियटर राउन्डमा स्थान बनाएकी छन् । उनीसँगै ४ जनाले गोल्डेन माइक पाएका थिए । अब उनीहरुले १५ जना प्रतिस्पर्धीसँग भिड्नुपर्छ । थियटरपछि गाला राउन्ड र त्यसपछि ‘इलिमिनेसन राउन्ड’ सुरु हुनेछ । 

इन्डियन आइडलको मञ्चमा मेनुका निकै आत्मविश्वासी देखिइन्। 

‘मलाई कुकिङ, सपिङ गर्न आउँछ । हार्मोनियम बजाउन आउँछ । म एक्लै जतासुकै घुमफिर गर्छु । सामान्य मान्छेले गर्ने काम सबै गर्न सक्छु’, उनले आफ्नो आत्मविश्वास खुलेरै प्रकट गरिन् ।

जब गाउन थालिन्, ‘उनी निकै मीठो गुञ्जिइन् । नेपाल आइडलदेखि इन्डियन आइडलदेखि सम्म पुग्दा उनी अहिले बढी मधुर र कर्णप्रिय लागिन् ।’ 

उनको आवाज र गायकीले निर्णायकहरु धर्धरी रोए । जुन रियाक्सन जजहरुबाट पाइन्, त्यो ‘नेक्स्ट लेभल’ कै थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij