Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शेरबहादुर देउवाको राजनीतिक यात्रा


सारांश

शेरबहादुर देउवाको राजनीतिक यात्रा
images

काठमाडौं ।  संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवाको जन्म ३१ जेठ २००३ मा डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो। उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन्।

२०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए। प्राथमिक शिक्षा गृहजिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन्। २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए।

२०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौं पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। पहिलो पटक २६ भदौ २०५२ देखि २६ फागुन २०५३ सम्म प्रधानमन्त्री भएका देउवा ७ साउन २०५८ देखि १८ असोज २०५९ सम्म दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

सोही वर्ष १८ असोजमा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २१ जेठ २०६१ मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई १९ माघ २०६१ मा पुनः पदबाट बर्खास्त गरेका हुन्।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ मा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उनी सभापति बनेका थिए। पछि २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए। त्यसपछि २४ फागुन २०७२ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भएका थिए।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २३ जेठ २०७४ मा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलो पटक संघीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल भएका छन्। 

सभापति देउवा २९ असार २०७८ मा पाचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसयता उनी नेतृत्वकै सरकारले ३० वैशाख २०७९ मा स्थानीय तह र ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ। देउवाले प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी १० वर्ष कारागार जीवन बिताएका छन्।

 
twitter sharing button
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij