Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

महिला एसिया कप क्रिकेट : नेपालले यूएईलाई हरायो


सारांश

महिला एसिया कप क्रिकेट :  नेपालले यूएईलाई हरायो
images

काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ ।

नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
 
नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।  

जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने महिला एसिया कपको नवौँ संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij