सारांश
काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज अपराह्नपछि चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ । तर, कोशी, मधेस र बागमतीसहित विभिन्न प्रदेशमा चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली नभित्र्याउन तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भ्रमण नगर्न आग्रह गरेको छ । वर्षाका कारण पहिरो, हिमपहिरो, चिसो तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।