Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ : माधव नेपाल


सारांश

विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ : माधव नेपाल
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताए । 

उनले भने,‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं । सुन्दर देश बनाउन चाहन्छौं । मानिसको जीवन सुखी बनाउन चाहन्छौं । त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन् । छाडापनहरु छन् । त्यसलाई त्याग्नुपर्छ ।’

त्यस्तै अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे । चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले स्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए । 

उनले भने, ‘जीवन संघर्ष हो । त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन् । समस्याहरु आउँछन् ,चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जसमा आत्माविश्वास छैन् । गरिछाड्छु भन्ने संकल्प छैन् । यो धर्तीमा त्यसले केही गरिखाँदैन् ।

गरिखाने मानिसमा आत्माविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ । संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन् ।

सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन् ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij