Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान


सारांश

आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान
images

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।

लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आइतबार आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि सँगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए ।

उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको भन्दै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप  वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए ।

उनले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि  उज्यालो नेपाल अभियान सुरु गरिएको भन्दै उक्त अभियानमा साथ र सहयोग दिन सबैलाई आग्रह पनि गरे ।

खाडी मुलुकहरु साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरुको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन   नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । 

‘अब थप ढीला नगरिकन  यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने।

एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij