सारांश
काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक तथा शास्त्रीय परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा दुःख नाश गर्नुहुन्छ। भक्तजनलाई दुःख, कष्ट र सङ्कटबाट मुक्ति दिलाउने देवीका रूपमा कुष्माण्डाको पूजा आराधना गर्ने गरिन्छ।
विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख गरिएको छ। दुर्गा सप्तशती अर्थात् चण्डीको देवी कवचमा पनि कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ।
देवी कवचमा ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ भनिएको छ। यसको भावार्थ त्रिविध तापले भरिएको संसारलाई आफ्नो उदरमा धारण गर्ने भगवती नै कुष्माण्डा हुनुहुन्छ भन्ने हो।
नवरात्रका नौ दिनमा नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्परा छ।