Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै


सारांश

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै
images

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। दुर्गा पक्षको यस दिन भक्तजनले श्रद्धा र भक्तिपूर्वक देवीको आराधना गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्छन्।

धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् स्कन्द अर्थात् कुमार कार्तिकेयकी माता हुन्। स्कन्दको अर्थ सनतकुमार पनि हो। स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएकी र दुवै हातमा कमलको फूल धारण गरेकी देखिन्छिन्।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। देवी दुर्गाका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

बडादसैँमा नवदुर्गाको पूजा आराधना गर्नाले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका प्रत्येक दिन देवीका फरक–फरक स्वरूपको पूजा गरी भक्तजनले शक्ति, साहस र आशीर्वादको कामना गर्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij