सारांश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार बेलुका स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियान्जिन प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ ।
त्यस्तै, ओलीले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
सन् २००१ मा स्थापना गरिएको एससीओ संगठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ ।