सारांश
काठमाडौं। पछिल्लो समय विभिन्न समूहमा बाँडिएको जेनजी पुस्ताबीचको छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई वार्ताको अभिभावकत्व लिन आग्रह गर्ने साझा समझदारी बनेको छ।
नेपाली सेनाको सहजीकरणमा हुन लागेको भनिएको वार्ताको नेतृत्वका लागि सुशीला कार्की उपयुक्त व्यक्तित्वका रूपमा प्रस्तुत भएका छन्।
“अहिलको परिस्थितिमा सुशीला कार्कीभन्दा उपयुक्त, स्वतन्त्र र सबै पक्षले विश्वास गर्न सक्ने व्यक्ति कोही देखिएको छैन,” एक सहभागीले बताए।
छलफलमा कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्नसमेत आग्रह गर्नुपर्ने आवाज उठिरहेको छ। यद्यपि वैकल्पिक नामहरूमा छलफल गरिने जनाइएको छ।
भर्चुअल बैठक र छलफलमा सहभागी जेनजी प्रतिनिधिहरूले कार्कीलाई निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्तित्वका रूपमा चित्रण गर्दै उनीबाट नै नेतृत्व गराउनुपर्ने धारणा व्यक्त गरेका छन्।
बैठकमा सहभागी एक जेनजी प्रतिनिधिका अनुसार, प्रारम्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सबैभन्दा लोकप्रिय विकल्प थिए। तर, साहले फोन र सन्देशहरूमा कुनै प्रतिक्रिया नदिएको भन्दै अन्य नामहरूमा छलफल अघि बढाइएको थियो।
बैठकमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतका नामहरू पनि चर्चामा आए।