सारांश
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले भने, “हामी केही समयभित्र सभापतिज्यूसँग परामर्श गर्दैछौं। सभापतिज्यूको स्वास्थ्य सुधार भइरहेको छ। म उहाँसँग फोनमा सम्पर्कमा छु। आरजु देउवासँग पनि सम्पर्क भइरहेको छ, उहाँको पनि स्वास्थ्य सुधार भइरहेको छ।”
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। घाइते भएकाले नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्ने प्रयास गर्दा आक्रोशित युवाहरूले अवरोध गरेका थिए। पछि स्थलमार्गबाट उद्धार गरिएको थियो।
खड्काका अनुसार, दम्पतीलाई थप उपचार आवश्यक छ र चिकित्सकहरूले लगातार निगरानी गरिरहेका छन्। उनले भने, “हामी पार्टीमा सल्लाह गरेर, बैठक गरेर थप केही कुरा बोल्छौं र योजनाबद्ध तरिकाले अघि बढ्छौं।”