सारांश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान दिवसको अवसरमा आफ्नो नेतृत्वकालमा कमजोरी भएको स्वीकार गरेका छन् । तर, उनले तत्काल नेतृत्व नछाड्ने संकेतसमेत गरेका छन् ।
बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमा दाहालले गलत विचार वा नीति नलिए पनि व्यवहारमा चुकिएको स्वीकार गरे । उनले भने, “हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा कतै न कतै चुकेका छौं। सहिद परिवार, बेपत्ता परिवार, घाइते–अपाङ्ग र यातनापीडित साथीहरूको अपेक्षा पूरा गर्न हामी अल्मलियौं।”
प्रचण्डले माओवादी आन्दोलनको वर्ग र समुदायसँगको जीवन्त सम्बन्ध फितलो भएको उल्लेख गरे । कमजोरीको कारणबारे उनले आफ्ना कमजोरी मात्र नभई संख्यागत कमजोर र गठबन्धनको बाध्यतालाई पनि कारक माने ।
उनले भने, “एक्लै सरकारको नेतृत्व गर्न हाम्रो संख्या कहिल्यै पुगेन। गठबन्धनको बाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो।”