संसद् बैठकमा तनावपूर्ण दृश्य: आशिकालाई समातेर बाहिर लगियो
सारांश
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्न इच्छुक सबै सांसदले अवसर नपाएपछि केहीबेर विवादको स्थिति सिर्जना भएको छ।
दलीय प्रतिनिधित्वका आधारमा प्रत्येक दलबाट एक–एक जना सांसदलाई मात्र प्रश्न सोध्ने अवसर दिएपछि सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तर कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए। त्यसक्रममा थप प्रश्न गर्न चाहने केही सांसदहरूले असन्तुष्टि जनाएका थिए।
एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईलगायतले प्रश्नका लागि हात उठाएका थिए। उनीहरूले सभामुखसँग यस विषयमा प्रश्नसमेत गरेका थिए।
यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ विपक्षी सांसदहरूप्रति आक्रोशित बनेकी थिइन्। उनलाई शान्त हुन आग्रह गरिए पनि केहीबेर उनी आफ्नो अडानमा रहेकी थिइन्।
स्थिति थप तनावपूर्ण बन्न नदिन रास्वपाकै सांसदहरूले उनलाई सम्झाउने प्रयास गरेका थिए। अन्ततः सहकर्मी सांसदहरूले उनलाई सदनबाहिर लैजाँदै अवस्था सामान्य बनाएका थिए।