सारांश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपराह्न अवलोकन गरेका छन् ।
ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी हुँदै उनले प्रथम महिला सबिता पौडेलसँगै जात्रा अवलोकन गरेका हुन् ।
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार गुठी संस्थानका कर्मचारीले भोटो प्रदर्शन गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका छन् ।
मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा गराउने तथा अनिष्ट र अनिकालबाट रक्षा गर्ने देवताका रूपमा मानिन्छ । त्यसैले यस जात्राको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व विशेष रहेको छ ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।