काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ।
उद्घाटनपछि बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक तथा विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा गरिसकेको जनाएको छ।
केन्द्रीय समितिले विधान संशोधन गर्दै केन्द्रीय समिति १२१ बाट १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ। संशोधित विधानअनुसार पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिनेछ भने ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था राखिएको छ।
रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ।