सारांश
काठमाडौं । डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाएको जनाएको छ।
सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगोले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध प्रकारका गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्री सुरक्षित, सहज र आधिकारिक माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।
डिशहोम डिजिटलसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता तथा दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको कम्पनीको दाबी छ।
यसै क्रममा डिशहोम डिजिटलले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीअनुसार ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण अनुमति पनि प्राप्त गरेको छ। उक्त अनुमतिले कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप बलियो बनाएको जनाएको छ।
कम्पनीका अनुसार आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो। यसले डिशहोम डिजिटललाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नुका साथै डिगोलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
डिशहोम डिजिटलले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिगोलाई विश्व बजारमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।