काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले केन्द्रीय समिति निर्वाचनमा प्रयोग गरिएको भोटिङ मेसिनबाट आफ्नो परिचित नाम ‘ज्वाला’ हटाइएको विषयमा औपचारिक उजुरी दर्ता गराएकी छन् ।
महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगलाई सम्बोधन गर्दै उनले उक्त विषयमा निष्पक्ष छानबिनको माग गरेकी हुन् । संग्रौलाले पार्टीका आधिकारिक अभिलेख, वेबसाइट तथा उम्मेदवारी दर्ताका क्रममा आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला)’ उल्लेख भएको स्मरण गराउँदै मतदानका क्रममा भने ‘टिका संग्रौला’ मात्रै देखाइएकोमा आपत्ति जनाएकी छन् ।
उजुरीमा उनले आफ्नो परिचित नाम हट्नुको कारण तत्काल सार्वजनिक गर्न र यसबारे सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेकी छन् । साथै, उक्त निर्णयका कारण आफूलाई पुगेको राजनीतिक तथा चुनावी क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा पनि स्पष्ट जवाफ माग गरेकी छन् ।
संग्रौलाको आरोप छ कि निर्वाचनमा सहभागी अन्य केही उम्मेदवारका परिचित वा प्रचलित नाम भोटिङ मेसिनमा समावेश गरिएको अवस्थामा आफ्नो नाम मात्रै हटाइनु सामान्य त्रुटि नभई नियोजित व्यवहार हुन सक्छ । उनले यसले प्रतिनिधिहरूबीच भ्रम सिर्जना गरेको र धेरै मतदाताले आफूलाई पहिचान गर्न नसकेर मतदान गर्न नपाएको दाबी गरेकी छन् ।
घटनाप्रति असन्तुष्टि जनाउँदै संग्रौलाले निर्वाचन प्रक्रियाको पारदर्शिता र समान व्यवहार सुनिश्चित गर्न आयोगले तत्काल कदम चाल्नुपर्ने बताएकी छन्।