Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा निर्वाचन : ९९ केन्द्रीय सदस्य चयनका लागि २,९५९ मत खस्यो, १३ सय ५२ जनाले हालेनन् भोट


सारांश

रास्वपा निर्वाचन : ९९ केन्द्रीय सदस्य चयनका लागि २,९५९ मत खस्यो, १३ सय ५२ जनाले हालेनन् भोट
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको पहिलो चरणको मतदान सम्पन्न भएको छ ।

विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न निर्वाचनमा कुल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मतदान गरेका छन् । भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका अनुसार १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।

पार्टी स्रोतका अनुसार महाधिवेशनको कार्यतालिका प्रभावित हुनु, व्यवस्थापनमा देखिएका चुनौती तथा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा लामो खिचिनुले केही प्रतिनिधि मतदानअघि नै घर फर्किएका थिए । त्यसको असर मतदान प्रतिशतमा परेको बताइएको छ ।

रास्वपाको ९९ सदस्यीय निर्वाचित केन्द्रीय समितिका लागि ३८४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पहिलो चरणको मतगणना सम्पन्न भएपछि पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब केन्द्रीय समिति र पदाधिकारी चयनतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij