सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा समिक्षा बास्कोटाले आफ्नो नाम फिर्ता लिएपछि दुई नेताबीच सीधा चुनावी भिडन्त तय भएको हो।
रास्वपाको विधानअनुसार तीन उपसभापतिमध्ये दुई जना निर्वाचित हुने र एक जना मनोनीत गरिने व्यवस्था छ। निर्वाचित हुने दुईमध्ये एक पद महिला प्रतिनिधित्वका लागि छुट्याइएको छ।
यसअघि खुला उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। अब महिला उपसभापति पदका लागि गौतम र कार्कीबीच हुने प्रतिस्पर्धाले महाधिवेशनको अर्को महत्वपूर्ण चुनावी भिडन्तको रूप लिएको छ।