सारांश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एकै सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा रहनेछिन्।
मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले यस कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ। मदन भण्डारीको विचार र योगदानबारे केन्द्रित कार्यक्रममा शीर्ष नेताहरूले साझा मञ्चबाट आफ्नो धारणा राख्नेछन्।
प्रचण्डले केही दिनअघि समाजवादी मोर्चासँग एकता र एमालेसँग सहकार्यको सम्भावना औँल्याएको अभिव्यक्ति दिएपछि आजको कार्यक्रमलाई राजनीतिक रूपमा अझ अर्थपूर्ण मानिएको छ।