Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज असार १५: धान रोप्दै दही–चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस


सारांश

आज असार १५: धान रोप्दै दही–चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस
images

काठमाडौं ।  प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ गर्दै र दही–चिउरा खाएर उल्लासका साथ मनाइँदैछ। रोपाइँको व्यस्ततापछि थकित शरीरलाई ऊर्जा र शीतलता दिने विश्वासका साथ किसानले दही–चिउरा खाने परम्परा रहिआएको छ।

असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्व का रूपमा पनि विशेष महत्त्व दिइन्छ। खेतीपातीमा संलग्न किसान मात्र होइन, विभिन्न पेशा, व्यवसाय र अध्ययनमा आबद्ध नेपालीले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।

नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। कुनै शुभ कार्यका लागि घरबाट निस्कँदा, विदेश जाँदा वा नयाँ काम सुरु गर्नुअघि दही–अक्षता लगाउने र सगुनका रूपमा दही खुवाउने परम्परा अझै कायम छ। दही खाएर यात्रा गर्दा शुभ हुने जनविश्वास पनि प्रचलित छ।

स्वाद मात्र होइन, दही स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ। यसमा रहेका उपयोगी जीवाणुले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्ने विश्वास छ। आयुर्वेदमा दहीबाट बनाइएको मोहीलाई पनि स्वास्थ्यका लागि उपयोगी पेयका रूपमा वर्णन गरिएको छ।

पखालाजस्ता सामान्य पाचन समस्यामा पनि दही–चिउरा लाभदायक हुने मान्यता छ। यही सांस्कृतिक, स्वास्थ्य र कृषि महत्वका कारण असार १५ नेपाली समाजमा धान रोपाइँ र दही–चिउरासँग जोडिएको विशिष्ट राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij